काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीमा रहेका अर्जेन्टिनी स्टार खेलाडी सर्जियो अग्युरोले यो फुटबल सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन्। सिजनको अन्त्यमा सम्झौता सकिएसँगै म्यानचेस्टर सिटीका सर्वाधिक गोलकर्ता ३२ वर्षका अग्युरोले क्लब छाड्ने भएका हुन्।
सन् २०११ मा स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटी गएका अग्युरोले क्लबमा ३८४ खेलमा २५७ गोल गरेका छन्। यो सिजन चोटका कारण समस्यामा परिरहेका अग्युरोले खेलेका १४ खेलमा नाै खेल सुरुआती ११ मा रहेर खेलेका थिए। उनले यो सिजन तीन गोल मात्र गरेका छन्।
अग्युरोलाई आउने सिजनमा बार्सिलोना पठाउने गरी उनका एजेन्टले बार्सिलोना अध्यक्ष लापोर्तासँग कुराकानी गरिरहेका खबरहरु आइरहेका छन्। त्यसबाहेक पनि केही युरोपियन क्लबले नै उनीमाथि इच्छा देखाइरहेका छन्। प्रिमियर लिगमा नै उनले अर्को क्लब रोज्नसक्ने सम्भावना भने कम देखिन्छ।
बार्सिलोना अध्यक्ष लापोर्तासँग अग्युरोका एजेन्ट हेर्नन रेग्युएराले कुराकानी गरेको खबर आइरहेका छन्। अग्युरो स्वयम पनि बार्सिलोनामा मेस्सीसँगको साझेदारीमा बढ्न इच्छुक देखिएको बताइन्छ। सन् २००६ देखि २०११ सम्म एथ्लेटिको मड्रिडमा रहेका अग्युरोलाई फेरि पनि स्पेन फर्कन उति मुस्किल छैन। मेस्सीसँग त उनी अर्जेन्टिनाको विभिन्न उमेर समूहको टिमदेखि राष्ट्रिय टिमसम्म सँगै रहेकै छन्।
यो सिजनको अन्त्यमा म्यानचेस्टर सिटीसँग सम्झौता सकिने हुँदा अग्युरोलाई बार्सिलोना जान ‘ट्रान्सफर फि’ कारण हुने छैन। अहिले उनको तलब लगभग १५ मिलियन युरो रहेको बताइन्छ। त्यसमा कम गरेर पनि उनी बार्सिलोना जान चाहन्छन् भन्ने बताइन्छ। अग्युरो बार्सिलोनामा जाँदा बार्सिलोना कप्तान लियोनल मेस्सीका लागि पनि मैदानको पुरानो साझेदारी मिल्ने फुटबल विश्लेषक बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।