काठमाडौं- वैदेशिक रोजगारीको नाममा ७२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले ठगीको आरोपमा दाङको लमही–५ शिशिर बस्नेतलाई पक्राउ गरेको हो।
उनीमाथि ललितपुर कुमारीपाटीमा हाई सक्सेस म्यानेजमेन्ट ग्रुप प्रालि नामको कार्यालय खोलेर वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको छ। शिशिरसँगै उनका दाई माइकलसिंह बस्नेत, रुपन्देहीको कोटहिमाई–२ का सुमितकुमार उपाध्याय, धादिङका समिर तामाङ समेत मिलेर वैदेशिक रोजगारीको नाममा ७२ लाख ३२ हजार ६६५ रुपैयाँ ठगी गरेको पाइएको परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले बताए।
उनीहरुले सिंगापुर, पोर्चुगल, हंगेरीलागयतका देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन गरेका थिए। उक्त विज्ञापनमार्फत् सम्पर्कका आएका विभिन्न व्यक्तिहरुबाट उनीहरुले ७२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप लागेको छ।
कामको सिलसिलामा साइप्रसमा रहेका सफल गुरुङको दस्तखत कीर्ते गरी नबिल बैंकमा रकम जम्मा गर्न लगाएर लिने गरेको अनुसन्धानबाट खुलेको छ। शिशिरविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ। अन्य व्यक्तिहरु भने फरार रहेकाले खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।