काठमाडौं- थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा बंगलादेशविरुद्ध पहिलो हाफसम्म नेपालले २-० गोलको अग्रता बनाएको छ। नेपालका लागि सन्जोक राई र विशाल राईले गोल गरे।
दशरथ रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको हो। खेलको १८औं मिनेटमा सन्जोकले गोल गर्दै नेपाललाई अग्रता दिलाए।
कर्नरबाट रिबाउन्ड भएको बल डिबक्सभित्रबाट राम्रो प्रहार गर्दै सन्जोकले गोल गरेका हुन्। सन्जोकको राष्ट्रिय टोलीका लागि यो डेब्यु गोल हो। नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज चाइपेईविरुद्ध गोल गरेयता अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको थिएन। चाइनिज ताइपेईविरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए।
खेलको १७औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडबल गोलकिपर अनिसुर रहमानले मुस्किलले जोगाएका थिए। ३०औं मिनेटमा अन्जन विष्टले गोलकिपर कटाएर हान्न खोजेको फ्लिक सर्ट पोष्टमाथिबाट बाहिरिएको थियो।
खेलको ४२औं मिनेटमा रन्जित धिमालले दिएको पासलाई सन्जोकले थोरै दिशा दिए। जसलाई विशाल राईले अगाडि बढेर उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे। योसँगै नेपालले पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको हो।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।