काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकटको मूल्य बढाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आम्दानी घट्ने देखेर फाइनल खेलका लागि टिकटको मूल्य बढाएको हो।
एन्फाले टिकटको मूल्य बढाएसँगै भिआइपीतर्फ २ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, साधारण प्याराफिटतर्फ एक हजार रुपैयाँ एन्फाले तोकेको छ।
यसअघि भिआइपीतर्फ १५ सय र साधारण प्याराफिटतर्फ सात सय रुपैयाँ टिकट शुल्क थियो। पुरानै शुल्क बढी भएको भन्ने दर्शकको गुनासो आइरहँदा एन्फाले फाइनल खेलकै दिन केही घन्टाअघि मूल्य बढेको जानकारी दिएको हो।
पहिले टिकटको मूल्य बढी भएको गुनासो आउँदा एन्फा प्रवक्ता किरण राईले नेपाली फुटबलका लागि योगदान गरेको सम्झन फुटबलप्रेमीलाई आग्रह गरेका थिए।
‘यति पैसा अहिलेको समयमा महँगो पनि होइन। नेपाली फुटबलका लागि योगदान गरेको सम्झन म सबैलाई आग्रह गर्दछु’ प्रतियोगिता सुरु हुनु एक दिन अघि यसो भनेका प्रवक्ता राई अहिले भन्छन्, ‘धेरै कुरा नभनौँ, टिकटको मूल्य बढेको हो।’
एन्फाले कोभिडको समयभन्दै प्रतियोगिता सुरु हुनअघि भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट बेच्ने लक्ष्य राखेको थियो। तर, टिकट महंगो भएको भन्दै दर्शक खेल हेर्न उल्लेख्य मात्रामा उपस्थित भएनन्।
एन्फाले ‘थ्री नेसन्स कप’बाट एक करोड ५० लाख रुपैयाँ कमाउने लक्ष्य राखेको थियो। तर राम्रो प्रायोजक ल्याउन नसक्दा खेल हेर्न आउने दर्शकको टिकटमा मूल्य वृद्धि गरेको हो।
‘थ्री नेसन्स कप’ कपको उपाधिका लागि आज नेपालले बंगलादेशसँग दशरथ रंगशालामा ५ः३० बजे प्रतिस्पर्धा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।