धनुषा- हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका-७ खप्तरी टोलमा एक जनाको मृत्यु भएको छ।
आइतबार मध्यराति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो। गाउँ पसेको हात्तीले घरमा भएको चामललगायत अन्न खानुका साथै १० वटा घरमा क्षति पुर्याएको छ।
गाउँलेहरूले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो। गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ। यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पुर्याउँदै आएको छ।
जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।