काठमाडौं– थ्री नेसन्स कप फुटबलको फाइनलमा आज (सोमबार) आयोजक राष्ट्र नेपालले बंगलोदशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।
लगातार दुई खेलमा गोलविहीन रहेको नेपाल फाइनलमा भने बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ। गोलपिकर किरण चेम्जोङको कप्तानीमा नेपाल मैदानमा उत्रिँदा फाइनल खेल केही रोचक हुने छ भने खेलाडीको लागि केही भावनात्मक हुनेछ।
आजै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जनले मैदानबाट सन्यास लिने छन्। जमाल हुयाको कप्तानीमा बंगलादेश नेपालविरुद्ध खेल्न लागेको हो। बंगलोदश पनि नेपाललाई पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जित्ने लक्ष्यमा हुनेछ।
पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो। लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो।
जारी प्रतियोगितामा नेपालले गोल गर्न सकिरहेको छैन। ४–५–१ को फर्मेसनमा मैदानमा खेलाडी उतारेका मुख्य प्रशिक्षक बालगोपाल महर्जन आजको खेलमा भने केही परिवर्तन गर्ने योजनामा हुनेछन्। यसअघि कीर्गिस्तान र बंगलादेशविरुद्ध सुरुवाती एघारमा कुनै परिवर्तन गरेका थिएनन्।

नेपाली टिमः गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, दीप कार्की डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।