काठमाडौं– जर्मनी, इटाली र इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोटमा लगातार दुई खेलमा जित निकालेका छन्। जर्मनीले रोमानियालाई, इटालीले बुल्गेरियालाई र इंग्ल्यान्डले अल्बानियालाई पराजित गरेका हुन्।
समूह ‘जे’ मा रहेको जर्मनीले आफ्नो दुई खेलमा लगातार जित निकाल्ने क्रममा रोमानियालाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गर्न सफल भयो। जर्मनीका सर्ज जिनाब्रीले खेलको १६ औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अंक बनाएको छ।
यसै समूहमा भएको अर्को खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–० गोलले हराउँदा नर्थ मासेडोनियाले लेच्टेस्टाइनलाई ५–० गोलले पराजित गरेको छ। समूह ‘सी’ को खेलमा इटालीले बुल्गेरियालाई २–० गोलले हराएको हो।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। यो जितसँगै इटालीले दुई खेलबाट ६ अंक बनाएको छ। यसै समूहमा भएको अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुनियालाई १–० गोलले हराएको छ।
समूह ‘आइ’ को खेलमा भने इंग्ल्यान्डले अल्बानियालाई २–० गोलले पराजित गरेको हो। इंग्ल्यान्डको जितमा ह्यारी केनले ३८ र मासोन माउन्टले ६३ औं मिनेटमा गोल गरे। यसै समूहमा भएका अन्य खेलमा हंगेरीले सान मारिनोलाई ३–० गोलले हराउँदा पोल्यान्डले एन्डोरालाई ३–० गोलले हराएको छ।
विश्वविजेता फ्रान्सले भने विश्वकपको युरोपियन छनोटमा दोस्रो खेलमा पहिलो जित निकालेको छ। यसअघि युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले आफ्नो दोस्रो खेलमा भने काजकिस्तानलाई २–० गोलले पराजित गरेको हो।
यसै समूहमा भएको अर्को खेलमा युक्रेन र फिनल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। समूह ‘बी’ मा रहेको स्पेनले पनि पहिलो जित निकालेको छ। यसअघि ग्रिससँग १–१ गोलको बराबरी खेलेको स्पेनले जर्जियालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
यसै समूहमा रहेको स्वीडेनले कोसोभोलाई ३–० गोलले पराजित गरेको छ। आइतबार राति नै भएका अन्य खेलमा डेनमार्कले मोल्डोभालाई ८–० गोलले हराउँदा अस्ट्रियाले फारोइ आइसल्यान्डलाई ३–१ र इज्रायल र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।