काठमाडौं- विश्वकप फुटबलको युरोपियन छनोटमा आज १५ खेल हुँदैछन्। जहाँ विश्वकप विजेता फ्रान्सदेखि जर्मनी, इटाली, इंग्ल्यान्ड, स्पेन लगायतका टिमले प्रतिस्पर्धा गर्दैछन्।
आइतबार ६ः४५ बजे समूह ‘डी’ मा रहेको विश्वविजेता फ्रान्सले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एस्टना एरिनामा हुने खेलमा घरेलु टिम काजकिस्तान फ्रान्सलाई रोक्ने लक्ष्यमा हुनेछ।
त्यस्तै, समूह ‘आइ’ मा रहेको इंग्ल्यान्डले अल्बानियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार ९ः४५ मा सुरु हुनेछ। अल्बानियाको मैदानमा इंग्ल्यान्ड जितको खोजीमा हुनेछ। त्यस्तै, यसै समूह अन्तर्गत हंगेरीले सान मारिनोसँग राति १२ः३० मा प्रतिस्पर्धा गर्दा पोल्यान्डले एन्डोरासँग १२ः३० मा नै प्रतिस्पर्धा गर्नेछ।
समूह ‘बी’मा रहेको स्पेनले जर्जियासँग खेल्दैछ। घरेलु टिम जर्जियाले स्पेनसँग राति ९ः४५ मा प्रतिस्पर्धा गर्न लागेको हो। यही समूहको अर्को खेलमा कोसोभोले स्वीडेनसँग राति १२ः३० मा खेल्दैछ।
समूह ‘जे’ मा रहेको जर्मनीले भने आफ्नो दोस्रो खेलमा रोमानियासँग प्रतिस्पर्धा गर्दैछ। १२ः३० बजे सुरु हुने खेलमा घरेलु टिम रोमानियाविरुद्ध जर्मनी जितको खोजीमा हुनेछ। त्यस्तै, यसै समूहमा हुने अर्को खेलमा अर्मेनियाले आइसल्यान्डसँग राति ९ः४५ बजे खेल्नेछ। नर्थ मासेडोनियाले लेच्टेस्टाइनसँग राति १२ः३० बजे खेल्नेछ।
समूह ‘सी’को खेलमा इटालीले बुल्गेरियासँग राति १२ः३० बजे प्रतिस्पर्धा गर्दा स्वीट्जरल्यान्डले लिथुनियासँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, समूह ‘एफ’मा डेनमार्कले मोल्डोभासँग, अस्ट्रियाले फारोइ आइसल्यान्डसँग र इजरायलले स्कटल्यान्डसँग खेल्नेछ। त्यस्तै, युक्रेनले फिनल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।