काठमाडौं– ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र बंगलादेशबीचकाे खेलकाे पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएकाे छ।
दशरथ रंगशालामा नेपालले पहिलो हाफमा पाएको केही राम्रो अवसर गोल गर्न नसक्दा बंगलादेशसँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको हो।
खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टले राम्रो ठाउँमा गोल गर्ने अवसर पाएका थिए। तर उनले गरेको हेड पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।
खेलको २४ औं मिनेटमा त्रिदेवले गोल गर्ने अवसर पाएपनि उनको प्रहार गोलपोस्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनेटमा जमल हुयाले प्रहार गरेको फ्रिकिक नेपालको गोलपोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो।
नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल र कीर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने एक खेल अघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।