फाइल तस्बिर
काठमाडौं- थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले आज (शनिबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ। बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा पुग्ने लक्ष्यमा छ।
बंगलादेशले चैत १० गते आफ्नो पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो। दोस्रो खेलमा नेपाल र कीर्गिस्तान गोलरहित बराबरीमा रोकिएसँगै बंगलादेश एक खेलअघि नै फाइनल पुगिसकेको छ।
फाइनल प्रवेश गर्ने नेपालको सम्भावना भने बलियो छ। बंगलादेशसँग बराबरी खेले पनि नेपाल फाइनल पुगनेछ। त्यसो त बंगलादेशसँग १-० गोलले हारे पनि नेपालको फाइनल पुग्ने सम्भावना भने रहन्छ।
नेपालले अन्तर्राष्ट्रियस्तरमा खेलिरहने टिममध्येकै एक हो, बंगलादेश। नेपालले पछिल्लो समयमा सन् २०१८ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई उसैको भूमिमा २-० गोलले पराजित गरेको थियो।
त्यसपछि पनि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। २०२० को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिम बंगलोदशसँग २-० गोलले पराजित भएको थियो। त्यसपछि दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।