रसुवा- रसुवामा आज ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुँदैछ। म्याराथन उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टरमार्फत पर्यटकीय क्षेत्र लाङटाङस्थित क्याङजिन गुम्बामा आउँदैछन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनमा लिन १५ जना महिलासहित सय जनाको सहभागिता रहेको छ।
क्याङजिङ गुम्बादेखि म्याराथन सुरु हुने म्याराथन घोडा तबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेसी आएर टुंगिने सहयोगी संस्था हरित युवा पर्यटन विकास 8 रसुवाका अध्यक्ष प्रमोदकुमार तितुङले बताए। समुद्री सतहबाट ३ हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब ४ घन्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगेपछि प्रतियोगिता समापन हुनेछ।
क्यान्जिन गुम्बादेखि स्याफ्रुबेँसीसम्मको दुरी ४२ दशमलव १९५ किलोमिटर रहेको छ। म्याराथनमा भाग लिनका लागि रसुवाका २५ जनाले नाम दर्ता गराएका छन्। म्याराथनमा पहिलो हुनेलाई एक लाख पाँच हजार, दोस्रो हुनेलाई ७८ हजार ७ सय ५० र तेस्रो हुनेलाई ५२ हजार ५ सयसहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन रसुवाबासीका लागि नि:शुल्क व्यवस्था गरिएको थियो। विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि २ हजार ५ सय दर्ता शुल्क कायम गरिएको थियो।
सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुर्याउने लक्ष्यका साथ प्रतियोगितालाई गत वर्ष जस्तै निरन्तरता दिइएको टानले जनाएको छ। ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मुल नाराका साथ टानले २०७३ सालदेखि रसुवामा म्याराथनको आयोजना गर्दै आएको छ। २०७३ मा गोसाइँकुण्डदेखि धुन्चेसम्म हाफ म्याराथनको आयोजना गरेको टानले गत वर्ष क्यानजिनदेखि स्याफ्रुबेसीसम्म म्याराथन सञ्चालन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।