काठमाडौं– ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा आयोजक नेपाल र किर्गिस्तानको यु-२३ टिमबीचको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्। नेपाली राष्ट्रिय टिमले घरेलु मैदान दशरथ रंगशालामा किर्गिस्तानको युवा टिमविरुद्ध ४-५-१ को फर्मेसनमा खेलिरहेको छ।
खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अन्जन विष्टले हानेको हेडले पोष्टको दिशा लिन सकेन।
१० औं मिनेटमा अनन्त तामाङले पाएको हेड बल, १४ औं मिनेटमा पोलमा लागेर फर्किएको बल, २९ औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किक र ३३ औं मिनेटमा रवी पासवानको क्रसमा अन्जनले बाहिर हानेको बल नेपालको राम्रो मुभ थियो। तर कुनै पनि अवसरमा गोल हुन सकेन।
‘थ्री नेसन्स कप’ मा यो नेपालको पहिलो खेल हो। नेपालले किर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ। तर किर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो। १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।