काठमाडौं– ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा आयोजक नेपाल र किर्गिस्तानको यु-२३ टिमबीचको खेल सुरु भएको छ। नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा किर्गिस्तानको युवा टिमविरुद्ध ४-५-१ को फर्मेसनमा खेलेको छ।
‘थ्री नेसन्स कप’ मा यो नेपालको पहिलो खेल हो। नेपालले किर्गिस्तानको यु-२३ टिमलाई हराए फाइनलमा स्थान बनाउने छ। तर किर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ।
नेपालले कप्तान किरण चेम्जोङको नेतृत्वमा खेलेको हो। प्लेइङ इलाभेनमा कप्तान किरणसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान अन्जन विष्ट र अभिषेक रिजाल छन्।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो। १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।