काठमाडौं- अघिल्लो महिना ओछ्यानसहित बेपत्ता भएका महोत्तरीको पिपरा-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीको शव फेला परेको छ।
पिपरा गाउँपालिका-२ स्थित बाटो छेउको पोखरी नजिकै पाँच फिटको खाल्डो खनेर गाडिएको अवस्थामा उनीहरूको शव भेटिएको प्रदेश–२ का प्रहरी प्रमुख, डिआइजी धिरजप्रताप सिंहले बताए।
झा दम्पतीका आफन्तले उनीहरूको सनाखत गरिसकेका छन्। मुसाफिरले लगाएको टिशर्ट र गीतादेवीले लगाएको कपडा, पोते र चुराले पहिचान भएको डिआइजी सिंहले बताए।
गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट झा दम्पतीलाई घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित वेपत्ता पारिएको थियो।
बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।
पक्राउ पर्नेमा पिपरा गाउँपालिका-५, का ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र पिपरा–६ बस्ने भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।
उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।