काठमाडौं– आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज (बिहीबार) कीर्गिस्तानको यु–२३ टिमसँग प्रतिस्पर्धा गर्दै छ। कीर्गिस्तानको यु–२३ टिमलाई पराजित गर्दै एक खेलअघि नै नेपाल फाइनलमा पुग्ने लक्ष्यमा छ।
दशरथ रंगशालामा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल ५ः३० बजे सुरु हुँदै छ। नेपालले कीर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउनेछ। तर कीर्गिस्तानको यु–२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलबाट लाग्नेछ।
मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो। नेपालले किरण चेम्जोङको नेतृत्वमा प्रतियोगिता खेल्दै छ। थ्री नेसन्स कप खेल्न आइलिग खेलिरहेका कप्तान किरण चेम्जोङ नेपाल आइसकेका छन्। १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ।
अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाली टिमः
गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु, दीप कार्की डिफेन्डर : रन्जित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।