काठमाडौं- धम्बोझी र त्रिवेणीले एन्फा प्रेसिडेन्ट लिगमा जित निकालेका छन्। बुधबार भएको खेलमा धम्बोझीले धादिङ समाजलाई र त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई पराजित गरेका हुन्।
बुधबार भएको खेलमा धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको हो। जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ।
अंक तालिकामा १० अंकसहित स्टार सिटी कैलाली शीर्ष स्थानमा छ भने त्रिवेणी र धम्बोझीको समान ९ अंक भएको छ। गोलअन्तरको आधारमा त्रिवेणी दोस्रो स्थानमा छ।
धम्बोझीको जितमा निशान लिम्बुले दुबै गोल गरे। उनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै क्लबलाई अग्रता दिलाए। धादिङका विजय भुजेलले १६औं मिनेटमा गोल गर्दै १-१ गोलको बराबरी दिलाए। पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको धम्बोझीका निशानले ६१औं मिनेटमा अर्को गोल गर्दै २-१ गोलको जित दिलाए।
त्यसैगरी नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा त्रिवेणी युवा क्लब लमजुङले सैनिक फुटबल क्लब झापालाई २–० ले पराजित गर्यो। त्रिवेणीको जितमा लक्ष्मण रुचाल र बिमल रानाले गोल गरे। लक्ष्मणले ६१औं मिनेटमा गोल गरेका थिए भने बिमलले ७८औं मिनेटमा गोल गरे।
जितसँगै त्रिवेणीले ४ खेल खेल्दै ३ खेलमा जित निकालेर ९ अंक जोडेको छ। शीर्ष स्थानको स्टार सिटी युवा क्लब कैलाली भन्दा त्रिवेणी १ अंकले मात्र पछि छ। सैनिक फुटबल क्लबले ४ खेल खेल्दै १ जित र १ बराबरी गरेर ४ अंक जोडेको छ भने २ खेलमा हारको सामना गरेको छ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। यो लिगको शीर्ष चारमा पर्ने टिमले राष्ट्रिय लिगमा भाग लिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।