काठमाडाैं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षणका लागि पुगेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलका क्रममा शाक्यले यस्तो बताएका हुन्।
‘काठमाडौं महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने र लागत समेत बढी राज्यलाई करोडौं घाटा हुने गरेको छ,’ शाक्यले भने, ‘अख्तियार र अदालतलाई समेत दिग्भ्रममा पारी दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारबाही वा क्षतिपुर्तिको व्यवस्था नहुँदा उनीहरु थप प्रोत्साहित हुने गरेका छन्। त्यस्तो प्रवृत्तिलाई न्यायलय र अख्तियारले निरुत्साह नगर्ने हो भने समृद्धिको यात्रा कठिन छ।’
अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुनर्निर्माणको लागत करीब ६ करोड बढेको स्मरण गराउँदै प्रमुख शाक्यले व्यक्तिगत र राजनीतिक स्वार्थ राखी निर्माण कार्यमा अवरोध गर्दा लागत बढेर राज्यलाई ठूलो नोक्सानी हुनेतर्फ संकेत गरे।
छलफलका क्रममा न्यायाधीश खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरु जिल्ला अदालतको निरीक्षणमा आउँदा आफूले यो कुरा राख्ने बताए। उनले निर्णयसँगै प्रक्रिया पनि ठीक हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।