बाजुरा- बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि शव फेला परेको छ। गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ।
छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला पुगेका ल्वार बेपत्ता भएका थिए। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरेपनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।
स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख, प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले बताए।
स्वामीकार्तिक खापर–२ को भुकाहाँखोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उनले बताए। खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी सई ठगुन्नाको भनाइ छ।
घटनास्थलमा देखिएको शङ्कास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ। बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।