दैलेख- दैलेखको नारायण नगरपालिका-५ नवदुर्गा निमावि धिताहमा सयौँ विद्यार्थी बिरामीले थला परेका छन्। बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतका समस्याले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले बताए। उनका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।
अहिले उक्त क्षेत्रमा जिल्ला अस्पतालका डा विवेक गुरुङको टोली पुगेको छ। विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्न समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको प्रधानाध्यापक रेग्मीले बताए।
बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले बताए। यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ।
हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।