काठमाडौं– २८ वर्षसम्म प्रहरीलाई छल्दै हिँडेका मानव बेचबिखनमा संलग्न भएको आरोप लागेका अभियुक्त पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भक्तपुरका चाँगुनारायण नगरपालिका–८ जितपुरका ६८ वर्षीय रामशरण पण्डि क्षेत्रीलाई जितपुरबाटै पक्राउ गरेको हो।
मानव बेचबिखनको आरोप लागेपछि उनी साउदी अरबमा १२ वर्षसम्म बसेका थिए। त्यसपछि भने नेपाल फर्किएर प्रहरीलाई छल्दै आएकाे ब्यूराेले जनाएकाे छ।
२०४९ सालमा काठमाडौं बालाजु क्षेत्रमा बस्ने २ महिलालाई ट्याक्सीमा घुमाउन लैजाने भनेर क्षेत्रीले काठमाडौंका विभिन्न ठाउँ घुमाएका थिए। सो क्रममा विभिन्न संदिग्ध मान्छेसँग समेत भेट गराएपछि क्षेत्रीले भारतको महाराष्ट्रबाट महिलाले हिरा नेपाल ल्याउँदा प्रहरीले पक्राउ नगर्ने भन्दै भारत जान प्रलोभन देखाएको ब्यूरोले जनाएको छ।
हिरा ल्याउँन जाँदा आउँदा लाग्ने खर्च सबै क्षेत्री आफैंले व्यहाेर्ने र हिरा ल्याएबापत जनही ६ हजार रुपैयाँ दिनेसमेत भनेर प्रलोभन देखाएका थिए। त्यसपछि क्षेत्रीले २०४९ वैशाख २९ गते कलंकीबाट वीरगञ्ज, रक्सौल हुँदै मुम्बई पुर्याई कोठीमा लगेर बेचिएका ब्यूरोका प्रवक्ता अनुरागकुमार द्धिवेदीले जानकारी दिए।
कोठी सञ्चालकलाई भेटेपछि क्षेत्री त्यहाँबाट उनी बेपत्ता भएका थिए। त्यसको ५ दिनपछि ३५ हजार रुपैयाँमा आफूहरु बेचिएका ती महिलाले जानकारी पाएका थिए। पछि मुम्बई प्रहरीको सहयोगमाट उनीहरुको २०४९ भदौ १२ गते उद्दार भएको थियो। त्यसबेला बेचिएका दुई महिलाले काठमाडौं आएर जाहेरी दिएपछि क्षेत्री भने बेपत्ता थिए।
पक्राउ परेका क्षेत्रीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।