काठमाडौं- लोकसेवा आयोगले कर्मचारीको बढुवामा आन्तरिक र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ।
आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउन योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामती सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेका व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए। संघीय संसद्मा विचाराधीन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको उनले जानकारी दिए।
यसैबीच आयोग भोलिबाट पदाधिकारीविहीन हुने भएको छ। २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदै छ।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहीन हुँदा गम्भीर असर पर्ने अवस्था रहेको बताए। तत्काल बढुवाको सबै प्रक्रिया, परीक्षा तथा नतिजा प्रकाशन गर्ने काम रोकिने लगायत प्रभाव पर्ने उनले बताए। यस्तै सरकारी उच्च पदका बढुवा, अन्तरवार्तालगायत सबै रोकिने अवस्था रहेको उनको भनाइ छ।
निजामती प्रशासनको सम्पूर्ण काम रोकिने हुँदा सरकारले समयमै पदाधिकारी नियुक्ति गर्ने विश्वास अध्यक्ष मैनालीले व्यक्त गरे। सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले आयोगमा अध्यक्ष मैनालीसहितका पदाधिकारी नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।