काठमाडौं- कोभिड-१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन्।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरूले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि धर्ना दिएका हुन्।
विद्यार्थीहरूले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरू समस्यामा परेको बताएका छन्।
सन् २०१४ को ब्याचमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरूको गतवर्ष इन्टर्नसिप रहेको र तीन महिनादेखि दश महिनासम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरूले बताएका छन्। पढाई पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नु परेको पनि विद्यार्थीहरूले बताएका छन्।
नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै सन् २०१४ को ब्याचका विद्यार्थीहरूको जस्तै सन् २०१५ का विद्यार्थीहरूको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए। तर, कानुन अनुसार सहजीकरण गर्नका लागि छलफल भइरहेको उनले बताए।
चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए। कतिपय विद्यार्थीहरूले काउन्सिलले लिने परीक्षा समेत पास गरिसकेका छन्।
तर, इन्टर्नसिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको विद्यार्थीहरूले बताएका छन्। बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय अन्तर्गतका मेडिकलहरूमा इन्टर्नसिप पूरा गर्न पाउने इन्टर्नसिप गाइडलाइनमा व्यवस्था भए अनुसार आफूहरूको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरूको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।