काठमाडौं- इंग्ल्यान्डका फुटबल स्टार डेभिड बेकह्यामले इटालियन क्लब युभेन्टसमा रहेका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीलाई एकै क्लबमा खेलाउन त्यति मुस्किल नरहेको बताएका छन्।
विश्व फुटबल समर्थकले सोचिरहेको तर मुस्किल देखिएको रोनाल्डो र मेस्सी एकै टिममा हुने विषय अमेरिकाको मेजर लिग सकर टिम इन्टर मियामीमा रहेका बेकह्यामले उति कठिन नरहेको बताएका हुन्। पछिल्लो १५ वर्ष नै विश्व फुटबलको केन्द्रमा देखिएका रोनाल्डो र मेस्सीले फुटबल जीवनका अन्तिम वर्षका लागि कुन क्लब रोज्लान् भन्ने बहस भइरहेको नै देखिन्छ।
‘मियामीमा हामीले पहिलेदेखि नै विश्व फुटबलमा महत्त्वपूर्ण कुन खेलाडीलाई ल्याउन सकिन्छ भन्नेबारे कुराकानी गरिरहेका हुन्थ्यौँ। त्यसमा रोनाल्डो, मेस्सी, नेमार जो पनि हुन सक्छन्,’ बेकह्यामले भनेका छन्।
‘त्यसरी खेलाडी ल्याउनेबारे हामी सधैँ कुराकानीमा हुन्छौँ नै, खेलाडीका लागि पनि यो निर्णय लिन उति कठिन हुन्छजस्तो लाग्दैन। किनभने मियामी पनि गज्जबको क्लब हो,’ बेकह्याम भन्छन्, ‘यहाँ समर्थकको संख्या पनि राम्रो छ। मियामी र साउथ फ्लोरिडामा उत्कृष्ट खेलाडीहरु पनि छन्। त्यसैले स्टार खेलाडी ल्याउन हामीलाई अवसर छ।’
अहिले मियामी क्लबमा मालिकमध्ये एक रहेका बेकह्याम आफ्नो समयका फुटबल स्टार हुन्। उनले क्लब फुटबलमा युवा समयमा टोटनह्याम हुँदै सिनियर फुटबलमा म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, पिएसजीलगायतका टिममा खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।