काठमाडौं– नेपाल, बंगलादेश र कीर्गिस्तानको यु–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ।
प्रतियोगिताको पहिलो दिन आज (मंगलबार) बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमसँग प्रतिस्पर्धा गर्दै छ। दशरथ रंगशालामा बंगलादेश र कीर्गिस्तानको यु–२३ टिम प्रतियोगिताको पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
खेल नेपाली समयअनुसार ५ः३० बजे सुरु हुनेछ। प्रतियोगिताकै लागि भनेर दशरथ रंगशाला चिटिक्क पारिएको छ। यसअघि नै सबै तयारी पूरा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताइसकेको छ। १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भने नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यु–२३ टिमसँग खेल्नेछ।
नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
खेल हेर्नका लागि एन्फाले टिकटदर साधारण प्याराफिटतर्फ सात सय र भिआइपीतर्फ १५ सय राखेको छ। १५ हजार दर्शक क्षमताको भए पनि १२ हजार मात्रै दर्शक प्रवेश गराउने एन्फाको यसअघि निर्णय थियो। तर पछिल्लो समयमा कोरोनाको संक्रमण भारत लगायतका देशमा झनै बढेपछि नेपालमा पनि उतिकै जोखिम रहेको कारण एन्फा छलफलमै छ।
विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेललाई मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा राम्रो खेल्ने नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।