काठमाडौं- सरकारी साक्षी बसेर उन्मुक्ति पाएका सिरम्फु सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष धनवीर थामी र सचिव जीतबहादुर तामाङविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ।
चार लाख रुपैयाँ घुस लेनदेनमा जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीसमेतका व्यक्तिले सिरम्फु सिँचाइ योजनालगायत अन्य समितिहरुबाटसमेत घुस लिने गरेको पाइएको भन्दै अख्तियारले यसअघि नै मुद्दा दायर गरेको थियो।
सोही घटनामा सजाय मागदाबीमा पूर्ण छुट दिई सरकारी साक्षीका रुपमा सिरम्फु सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष थामी र सचिव तामाङलाई पेस गरिएको थियो।
पछि अनुसन्धानको क्रममा उनीहरुले इन्जिनियर अधिकारी र सबइन्जिनियर सुधिरकुमार साहलाई आयोजनामा भएको घोटाला लुकाउन रकम दिएको पाइएपछि उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।