काठमाडौं- नेपाल, बंगलादेश र कीर्गिस्तानको यु-२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा आफूहरुको लक्ष्य नतिजा केन्द्रीत हुनेभन्दा राम्रो खेल प्रदर्शन गर्नेमा रहेको नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन्। विश्वकप छनोटकै लागि तीन महिनादेखि गरिरहेको तयारीका कारण यो प्रतियोगितामा राम्रो गर्नेमा आफू विश्वस्त रहेकाे उनकाे भनाइ छ।
‘हामी राम्रो खेल खेल्ने कुरामा ध्यान दिनेछौँ। राम्रो खेलपछि नतिजा त अवश्य पनि आइनै हाल्छ। विश्वकप छनोट खेलको तयारीका रुपमा नै यसलाई लिएका छौँ,’ प्रशिक्षक महर्जनले भने,‘विश्वकप छनोटकै लागि तीन महिनादेखि गरिरहेको तयारीका कारण यो प्रतियोगितामा राम्रो गर्नेछौँ भन्ने विश्वास छ।’
चैत १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो खेल बंगलादेश र कीर्गिस्तान यु २३ टिमबीच मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यु–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि सबै तयारी पूरा भएको जनाएको छ। तर नेपाली टिममा रहने खेलाडीको को–को हुन् भन्ने यकिन गरिएको छैन। अभ्यासमा रहेका खेलाडीलाई हेरेर आफूले सबै तयारी पूरा गरेको र टिममा रहने खेलाडीको निक्योल भइसकेको प्रशिक्षक बताउँछन्।
‘टिममा को हुने भन्ने कुरामा म तयार छु। ब्यवस्थापनलाई सबै कुरा बुझाइसकेको छु। ब्यवस्थापनले भनेदेखि म अहिले नै सार्वजनिक गर्न तयार छु। टिम कप्तानका रुपमा किरण चेम्जोङ हुनेछन्। उनी आज नेपाल आउँदैछन्। उपकप्तानमा रोहित चन्द छन्,’ प्रशिक्षक महर्जनले भने।
प्रतिद्धन्दीकाे अवस्था आफूलाई राम्राेसँग थाहा भएकाे बताउँदै उनले साेही अनुसार आफ्नाे टिम बनाउने पनि बताए। ‘टिमको फर्मेसन के हुने भन्ने खेलको अवस्था हेरेर हुन्छ। भोलिको खेल हेरेर हाम्रो टिम कस्तो बनाउने भन्ने यकिन गर्छु। कीर्गिस्तानको टिममा पनि दुई खेलाडी राष्ट्रिय टिमका छन्। चार जना खेलाडी यु१९ टिमका छन्। एक जना बाहिर व्यवसायिक खेल खेलिरहेका हुन्। सबैजसो छ वर्षदेखि एकै समूहमा खेलिरहेका खेलाडी हुन्। त्यसैले हामीले टिमबारे अध्ययन गरेका छौँ,’ उनले भने।
कोरोनाबाट खेलकुद फर्कंदै गर्दा बंगलादेशमा खेलेको मैत्रीपूर्ण खेलमा नेपाली टिमको प्रदर्शन राम्रो नभएको भए पनि अहिले अवस्था फेरिएको प्रशिक्षक महर्जनले बताए।
‘त्यो बेला धेरै खेलाडी चोटमा थिए। एक हप्ताको अभ्यास पनि राम्ररी गर्न पाएका थिएनौँ। छोटो समयको तयारी र धेरै खेलाडी स्वास्थ्यका कारण टिममा नहुँदा खेल राम्रो भएको थिएन। अहिले अवस्था फरक छ। सबै सकरात्मक छन्,’ उनले भने।
नेपाली टिमका उपकप्तान रोहित चन्दले लामो समयपछि राष्ट्रिय टिमले दशरथ रंगशालामा खेल्न लागेकाले फरक उत्साह रहेको बताएका छन्। ‘रंगशालमा खेल्ने उत्साह त धेरै नै छ। त्यहाँ नखेलेको धेरै नै भइसकेको छ। टिममा युवा खेलाडीको नै वर्चस्व छ अहिले। सबै सकारात्मक नै छन्,’ उनले भने। विश्वकप छनोटको तयारी अहिलेको खेलमा काम लाग्ने पनि उनले बताए।
दशरथ रंगशालामा एउटा खेलका लागि १२ हजार दर्शकलाई मैदानमा प्रवेश दिने एन्फाको योजना छ। तर पछिल्लो समय सरकारले कोरोना जोखिम बढेको भन्दै सभा, सम्मेलन र भेला नगर्न गरेको आग्रहले दर्शकसहितको खेलबारे एन्फाले छलफल गरिरहेको छ।
रंगशालाको क्षमता १५ हजारको हो। कोरोना भाइरसको कारण तीन हजार कम गरी दर्शक प्रवेश गराउने एन्फाको तयारी थियो। जहाँ भिआइपी प्याराफिट तर्फ १५ सय र साधारण प्याराफिटतर्फ ७ सय रुपैयाँ टिकट दर तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।