काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताएकी छन्। त्यसैका लागि सरकारले विदेशी लगानी भित्र्याएको उनको दाबी छ।
सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालले बताइन्। ‘ठूला-ठूला देशमा पनि एफडिआई लागू भएको छ। र, कृषिको विकास भएको छ। कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी छ’, खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा मन्त्री अर्यालले भनिन्।
मन्त्री अर्यालले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागू गर्न आवश्यक रहेको बताइन्। ‘हाम्रो सामर्थ्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तर, हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरूलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ। वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर, धेरै आशंका गरेर विकास कामहरू रोक्ने कुरा राम्रो होइन।’
एफडिआईका बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उनको भनाइ थियो। मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्तवेजहरू अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने बताइन्।
‘सरकारले कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिएको छ। जसअनुसार कृषिमा ठूला लगानीको आवश्यकता छ तर, जुन कुरा हाम्रो क्षमताले मात्र भ्याउँदैन’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो सामर्थ्यले नभ्याउने अवस्थामा विदेशी लगानी आकर्षित गरेर कृषि क्षेत्रको विकास गर्ने, उत्पादन पनि बढाउने र निर्यात पनि गर्ने हिसाबले जानुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।