काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो २ सातामा चोरी भएका ३० मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ। महाशाखाले सोमबार एक कार्यक्रम आयोजना गरी सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो।
काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई पनि तीव्र बनाइएको महाशाखाको भनाइ छ। महाशाखाले १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर बरामद गरी धनीलाई हस्तान्तरण गरिएको हो।
ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका विभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिँदै आएको बताएका उनले भने, 'यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ। त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशन मार्फत मोटरसाईकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन्।'

यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तहरुमार्फत् मुद्दा चलाएको महशाखाले जनाएको छ।
सवारी साधन चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा लस्ट भेहिकल एप्लिकेसनमा लगइन गरी निवेदन दिन सकिने व्यवस्था गरीएको महाशाखाले जनाएको छ।
यसैबीच गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान सिं कुवरको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय विमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकल सहित पक्राउ गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।