काठमाडौं– नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन्। मुस्ताङ थासाङ गाउँपालिका–४ ठेगाना भएका १८ वर्षीय किशोरलाई पोखरा महानगरपालिका–१४ चाउथेबाट शनिबार पक्राउ गरिएको हो।
सोही ठाउँमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले जाँच गर्दा उनी नेपाली सेनामा कार्यरत नभएको पाइएकाले उनलाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको हो।
उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोसाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचयपत्र १ थान, फ्लाइरोज लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट १ थान, १ थान मोबाइल र रमेश श्रेष्ठको नामको नेपाली नागरिकताको प्रतिलिपि १ थान बरामद भएको छ।
उनी उपर लिखतसम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।