काठमाडौं-एफए कप सेमिफाइनल समीकरण पूरा भएको छ। चेल्सी, म्यानचेस्टर सिटी, लेस्टर सिटी र साउथह्याम्पटन सेमिफाइनलमा पुगेका हुन्।
सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटी तथा लेस्टर सिटी र साउथह्याम्पटन खेल्नेछन्। आइतबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई २–० ले हराएको हो।
लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो। यस्तै, शुक्रबार राति भएका खेलमा साउथह्याम्पटनले ब्रोनमाउथलाई ३–० ले साथै म्यानचेस्टर सिटीले इभर्टनलाई २–० ले हराएका थिए।
सेमिफाइनल खेल अप्रिल १७ र १८ मा हुनेछन्। चेल्सीले नयाँ प्रशिक्षक थोमस टुखल आएयता प्रभावशाली खेल देखाइरहेको छ। प्रिमियर लिग उपाधिमा अघि बढिरहेको म्यानचेस्टर सिटी पनि यो सिजन लयमा देखिन्छ। यसैले एफए कपमा चेल्सी र म्यानचेस्टर सिटीको खेल रोचक हुने अनुमान गरिएको छ।
एफए कपको सेमिफाइनलमा साउथह्याम्पटन पछिल्लो चार सिजनमा दोस्रो पटक पुगेको हो। गएको सिजन प्रिमियर लिगमा साउथह्याम्पटनलाई ९–० ले हराएको इतिहास बोकेको लेस्टर सिटी साउथह्याम्पटनविरुद्ध बलियो बन्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।