काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ ले हराएको छ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग अंक दूरी कम गरेको छ। २८ खेलमा बार्सिलोनाको ६२ र एथ्लेटिको मड्रिडको ६६ अंक रहेको छ।
खेलमा ३७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४३औँ मिनेटमा डेस्टले ला लिगामा आफ्नो पहिलो गोल गर्दै अग्रता दोब्बर बनाए। ५३औँ मिनेटमा उनैले अर्को गोल थपे। लिगमा सर्वाधिक गोलमा बढिरहेका मेस्सीले ५६औँ र ८९औँ मिनेटमा गोल गरे। डेम्बेलेले ७१औँ मिनेटमा गोल गरे।
रियल सोसिडाडविरुद्धको खेल बार्सिलोना कप्तान लियोनल मेस्सीको ७६८औँ खेल थियो। जुन क्लबमा सर्वाधिक खेल हो। यसअघि जाभीले बार्सिलोनाबाट ७६७ खेल खेलेका थिए। कीर्तिमानी खेलमा मेस्सीले दुई गोलका साथै एक असिस्ट पनि गरे।
यसअघि रियल मड्रिडले सेल्टाभिगोलाई ३-१ ले हराउँदै दोस्रोमा स्थान बनाएको थियो। बार्सिलोनाले सोसिडाडलाई हराएसँगै बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको हो।
अहिले उपाधिका लागि शीर्ष तीन क्लबको रोचक भिडन्त हुने देखिएको छ। तेस्रोमा रहेको रियल मड्रिडको २८ खेलमा ६० अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।