काठमाडौं- 'हनी-ट्रयाप' शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका-६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीया संगिता शाह, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घरभ ई गोंगबु नै बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल छन्।
यो समूहले कपन र ललितपुर इमाडोल बस्ने २ जना पुरूष व्यक्तिहरूलाई चाबहिल स्थित गेस्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसी अर्ध नग्न भिडियो बनाई बार्गेनिङ गर्ने गरेको अपराध महाशखाले जनाएको छ।
ती अर्धनग्न भिडियो पीडितलाई म्यासेन्जरमा पठाउने र रकम माग गर्ने गरेका थिए। यसरी उनीहरुले ८ लाख नगद र ५ लाखको चेक लिइसकेको अनुसन्धानबाट खुलेको छ।
रकम नदिए बलात्कारको उजुरी हाल्ने भन्दै उनीहरुले धम्क्याउने गरेको पीडितले बताउने गरेका छन्। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।