काठमाडौं- बेरुजु फर्छ्योट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। बेरुजु फर्छ्योट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/७७ को कायम बेरुजुमध्ये प्रहरीले समग्रमा ९५ दशमलव ४६ प्रतिशत फर्छ्योट गराएको छ।
गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गरे ।
कार्यक्रममा गृहमन्त्री थापाले प्रहरी देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकांक्षा र सरकारले आव्हान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्नेतर्फ तत्पर हुनुपर्ने बताए।
गृहसचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन् गरी अझै उत्तरदायी भएर काम गर्ने बताए।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्योट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कुल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी, ९५ दशमलव ४६ प्रतिशत फर्छ्योट भएकाे छ।
बेरुजु फर्छ्योट मापनको वर्गीकरणमा २०७३/७४, २०७४/७५ र २०७५/७६ गरी ३ वटा आर्थिक वर्षमा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।