काठमाडौं- नेपाल, बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी दिएको हो।
थ्री नेसन्स कप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत १० गतेदेखि सुरु हुँदैछ। मैदान सिंगारिएको छ भने, हरियो दुबोले रशरथ रंगशालामा सबैको ध्यान तान्ने गरेको छ।
कोरोनाको महामारीपछि नेपालले पहिलो प्रतियोगिता खेल्न लागेको हो। यसअघि बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेलेपनि लामो समयदेखि कुनै प्रतियोगिता भने कोरोनाको कारण खेल्न पाएको थिएन।
अन्तर्राष्ट्रिय रुपमा पनि कोरोनापछि फुटबल फर्किएको सन्देश समेत दिनका लागि आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीबारे एन्फाका प्रवक्ता भन्छन्, ‘तयारी लगभग सकिएको छ। अब सुरक्षा मिलाउनेदेखि टिकट बिक्रीको कार्यहरु मात्रै बाँकी छन्।’
एन्फा र मेडिसिटी अस्पतालबीच सम्झौता
एन्फाले मेडिकल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ। आइतबार त्रिपुरेश्वरमा एन्फाको तर्फबाट स्वास्थ्य विभाग प्रमुख निरज खड्की र अस्पताल विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता एक वर्षको हुने एन्फाले जनाएको छ। राष्ट्रिय टिमका खेलाडी तथा सहिद स्मारक ए डिभिजन लिग खेल्ने खेलाडीको ५ लाख, बी र सी डिभिजन लिग खेल्ने खेलाडीको तीन लाखको बीमा पनि अस्पतालले गर्नेछ।
त्यस्तै, थ्री नेसन्स कपको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने भएको छ। एन्फाले पुरानै सम्झौता अनुसार नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्न लागेको जानकारी दिएको हो।
१२ हजार दर्शक, टिकटदर ७ सय र १५ सय
१६ गतेसम्म हुने थ्री नेसन्स कपका लागि दशरथ रंगशालामा एउटा खेलका लागि १२ हजार दर्शकलाई मैदानमा प्रवेश दिने एन्फाको योजना छ। रंगशालाको क्षमता १५ हजार हो। कोरोना भाइरसको कारण तीन हजार कम गरी दर्शक प्रवेश गराउने एन्फाले जनाएको छ।
रंगशालाको भिआइपीतर्फको प्याराफिटमा टिकटदर १५ सय रुपैयाँ र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकिएको छ। जहाँ भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट एन्फाले बेच्ने छ।

सामाजिक सञ्जालमा टिकटदर निकै महंगो भएको भन्दै आलोचना भएपनि एन्फाले टिकटको मूल्य नघटाउने स्पष्ट पारेको छ। आइतबार एन्फा प्रवक्ता राईले फुटबललाई व्यावसायिक बनाउन यो मूल्य धेरै महंगो नभएको बताए। उनले भने, ‘फुटबललाई व्यावसायिक बनाउन यो मूल्य धेरै ठूलो हो जस्तो लाग्दैन। नेपाली फुटबलका समर्थकलाई मध्यनजर गर्दै मूल्य तोकेका हौं।’
डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको एन्फाले एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। त्यस्तै, प्रतियोगिताबाट बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाले योजना छ।
प्रतियोगिताका लागि कीर्गिस्तानबाट ३२ जनाको टोली आइतबार (आज) काठमाडौं आइपुग्ने छ। यता, बंगलादेशबाट ४० जनाको टोली भने बिहीबार साँझ नै काठमाडौं आइसकेको छ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउने छ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउने छन्।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमले चैत १० गते प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे सुरु हुनेछ। एन्फाले निकालेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ।
अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।