काठमाडौं- आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले भ्रामक विज्ञापनको नियन्त्रण तथा नियमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।
विभागले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी भइरहेका भ्रामक तथा अतिशयोक्तिपूर्ण विज्ञापनले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भन्दै नियन्त्रण तथा नियमन गर्न मन्त्रालयसँग आग्रह गरेको हो।
निजी स्वास्थ्य संस्थाहरूले जडिबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा, अकुपञ्चर, होमियोप्याथिक लगायत नाममा भ्रमात्मक विज्ञापन गरिरहेको विभागले जनाएको छ। आयुर्वेदसम्बन्धी कुनै सूचना प्रवाह गर्नुपरे स्वीकृति दिने कार्यालयको सिफारिसमा मात्र गर्न पाउने व्यवस्था मिलाउन पनि विभागको आग्रह छ।
जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ (२) बमोजिम मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार–प्रसार गर्न नपाइने व्यवस्था भएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।