काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले बुन्डेसलिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बायर्न म्युनिकले भिएफबी स्टुटगार्टलाई ४–० गोलअन्तरले पराजित गरेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे।
त्यस्तै, एक गोल सर्ज जिनाब्रीले थपे। घरेलु टिम बायर्न खेलको १२ औं मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो। अल्फोन्सो डेभिसले वाटरु इन्डोको खुट्टामा टेकेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
१० खेलाडीमा झरेको बायर्नले त्यसपछि झनै राम्रो खेल्यो। खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै रोबर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए। बायर्नले ६ मिनेटभित्रमा तीन गोल गरेको हो।
२२ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै बायर्नलाई २–० गोलको अग्रता दिलाए। २३ औं मिनेटमा लेवान्डोस्कीले अर्को गोल गर्दै बायर्नलाई ३–० गोलको अग्रता दिलाए। खेलको ३९ औं मिनेटमा अर्को गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे।
योसँगै पहिलो हाफसम्म बायर्नले ४–० गोलको फराकिलो अग्रता बनाएको थियो। पहिलो हाफमा चार गोल गरेको बायर्नले दोस्रो हाफमा भने गोल गर्न सकेन। लिगको शीर्ष स्थानमा रहेको बायर्नको यो जितसँगै २६ खेलबाट ६१ अंक भएको छ। पराजित स्टुटगार्टको भने २६ खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।