काठमाडौं– साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएका खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिमविरुद्ध रियलका करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, मार्को एसेन्सियोले एक गोल थपे। सेल्टा भिगोका सान्टी मिनाले एक गोल फर्काए। खेलको २० औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। ३० औं मिनेटमा फेरि उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० गोलको अग्रतामा पुर्याए।
खेलको ४० औं मिनेटमा सान्टी मिनाले गोल गरेपछि सेल्टा भिगोले पहिलो हाफसम्म २–१ को स्थिति बनाएको थियो। पहिलो हाफसम्म २–१ ले पछि परेको रियलले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो। खेलको अन्तिम समयमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३–१ को जित दिलाए।
त्यस्तै, ला लिगा मै भएका अन्य खेलमा रियल बेटिसले लेभान्टेलाई २–० ले पराजित गर्दा एथ्लेटिक क्लब र इबार १–१ गोलको बराबरी खेलेका छन्। त्यस्तै, भालाडोलिड र सेभियाले पनि १–१ गोलको बराबरी नै खेल्दा हुएस्का र ओसासुनाले भने गोलरहित बराबरी खेलेका छन्।
जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ। रियलको २८ खेलबाट ६० अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग रियलले अंक दूरी पनि तीनमा झारेको छ। एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २७ खेलबाट ५९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।