काठमाडौं- नेपाली चेली अनिता केसी र सरु लिम्बूको गोलमा मासा युनाइटेडले पाकिस्तान महिला फुटबल च्याम्पियनसिपमा जित निकालेको छ। शनिबार भएको खेलमा मासाले एचइसीलाई ४-० गोलअन्तरले पराजित गरेको हो।
मासा युनाइटेडकी अनिता केसीले दुई गोल गर्दा सरु लिम्बू र सामरोज सामरिनाले समान १-१ गोल गरे। खेलको छैटौं मिनेटमा नै अनिताले गोल गर्दै सामा युनाइटेडलाई १-० गोलको अग्रता दिलाइन्। उनकै गोलमा मासा युनाइटेडले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो।
खेलको ५८ औं मिनेटमा सामरोज सामरिनाले गोल गर्दै मासा युनाइटेडलाई २-० गोलको अग्रता दिलाइन्। ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अनिताले मासा युनाइटेडलाई ३-० गोलको अग्रता दिलाइन्। सरुले भने खेलको ८३ औं मिनेटमा गोल गरिन्। यो गोलसँगै मासा युनाइटेडले एचइसीलाई ४-० गोलले पराजित गरेको हो।
यसअघि भएको पहिलो खेलमा मासा युनाइटेडले सियालकोटलाई १९-० गोलले पराजित गर्दा नेपालका तीन खेलाडीले १७ गोल गरेका थिए। जसमा सरु लिम्बूले १०, अनिता केसीले ६ गोल र गीता रानाले एक गोल गरेका थिए।
मासा युनाइटेडबाट नेपालका चार खेलाडीले खेलिरहेका छन्। जसमा एन्जिला तुम्बापो सुम्बा, गीता राना, सरु लिम्बू र अनिता केसी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।