काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको खुवालुङ ढुंगा नहटाउन आग्रह गरेका छन्। बरु त्यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास र इतिहास तथा संस्कृतिप्रति सम्मान व्यक्त गर्न भनेका छन्।
उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्ने नदीमा रहेको उक्त ढुंगा किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गासिएको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत् उल्लेख गरेका छन्।
सप्तकोशीमा जेटबोट चलाउन उक्त ढुंगा हटाउने विषयमा प्रधानमन्त्रीले सार्वजनिक रुपमै बोलेपछि किराँत समुदाय आन्दोलित बनेको छ। उनीहरूले संघर्ष समिति गठन गरेर विरोध प्रदरश्न समेत गर्दै आएका छन्।
गएको फागुन ८ गते विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले सप्तकोशीमा जेटबोट सञ्चालन गर्न सप्तकोशी माझको खुवालुङ क्रेन लगाएर फुटाउने उल्लेख गरेका थिए।
किराँती समुदायले खुवालुङ आफ्नो आस्थाको केन्द्र भएकाले भत्काउन नमिल्ने भन्दै विरोधमा उत्रिएका छन्। किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे उल्लेख गरिएको मुन्धुम अध्येताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।