काठमाडाैं- म्यानमारको सैनिक निकट जुन्ता सरकारले सबै स्वतन्त्र पत्रिकाहरू बन्द गराएको छ। गत बुधबारदेखि सबै स्वतन्त्र पत्रिकाहरू बन्द भएको म्यानमार नाउले जनाएको हो।
फ्रेबुअरी १ मा सैन्य शासन लागू भएदेखि सेनाले लगातार मिडियामाथि हमला गर्दै गएको छ। यसअगाडि पनि सेनाले सैन्य ‘कू’विरुद्ध गरिएको प्रदर्शनलाई कभर गरेको भन्दै म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिजिमा र सात दिनको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो।
अब बर्मीलीहरुको सूचनाको भरपर्दो स्रोतका लागि अनलाइन मिडिया मात्रै अन्तिम लाइफलाइन बनेको छ। अहिले केही सेना समर्थित अनलाइन मिडिया मात्रै सञ्चालनमा छन्। तर, इन्टरनेटमा छेडछाड गरेसँगै त्यहाँका नागरिक विद्युतिय सञ्चारमाध्यमबाट बञ्चित भएका छन्।
सेनाले जारी आन्दोलनलाई बिफल बनाउन फेसबुक, ट्वीटर र युट्युव जस्ता सामाजिक सञ्जालमा पनि कडाइ गरेको छ।
‘मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था झन् बिग्रिएको छ, सेनाले इन्टरनेट बन्द गरेको छ अहिले राज्यमा स्वतन्त्रता भन्ने चिज अलिकति पनि छैन,’ राजनीतिक विश्लेषक सिथु अङ मिन्तले भने।
गत फेब्रुअरी ११ मा म्यानमार प्रेस काउन्सिलले न्यूज मिडियाहरूलाई नैतिकताको अभ्यास गर्न र राज्य प्रशासन काउन्सिललाई ‘जुन्ता’ नभन्न आग्रह गरेको थियो।
११ दिनपछि फेब्रुअरी २२ मा सेनाले मिडियालाई आफ्नो सहमति बेगरका शब्दहरू प्रयोग गरे लाइसेन्स रद्द गरिदिने धम्की दिएको थियो।
मन्त्रालयले अखबार र अनलाइन पोर्टलले प्रयोग गरेको भाषा गलत थिएन, तर पनि मिडिया नैतिकता उल्लघंन गरेको र अशान्ति मच्चाएको आरोप लगाएको छ।
फेब्रुअरी २५ मा भने करिब ५० वटा मिडियाले आफ्नो रिपोर्टिङ जारी राख्ने बताएका थिए।
जुन्ता सरकारले सम्पूर्ण समाचार माध्यमहरुलाई कमजोर बनाउन खोजेको छ। यसअघि रिपोर्टिङमा गएका पत्रकारहरुमाथि अवरोध गर्ने, क्यामेरा खोस्ने, थुनामा राख्ने र पानीको फोहोरा प्रहार गर्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।