काठमाडाैं- मिया सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति भएकी छिन्। जोन मागुफुलीको ६१ वर्षकाे उमेरमा मृत्यु भएपछि उनको स्थानमा उपराष्ट्रपति हसनलाई राष्ट्रपति बनाइएकाे हाे।
विगत दुई हप्ता यता सार्वजनिक रुपमा कतै नदेखिएका मागुफुलीलाई प्रतिपक्षी दलका नेताहरुले भने कोरोना भएको बताएका थिए। उक्त विषय भने पुष्टि हुन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पहिलोपटक सन् २०१५ मा राष्ट्रपति बनेका मागुफुली अघिल्लो वर्ष दोस्रो कार्यकालका लागि चुनिएका थिए।
उनकाे निधन भएकाे एक दिन पछाडी नै ६१ वर्षीया हसनले राष्ट्रपति पदकाे शपथ लिएकी छन्। शुक्रबार कालो सुट र रातो हेडस्कार्फ लगाएर राजधानी दार एस सलाममा पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शपथअघि उनले सैन्य परेडमा भाग लिएकी थिइन् र तोपको सलामी पाएकी थिइन्।
अफ्रिका महादेशमा महिला राज्यप्रमुख भएको यो दोस्रो घटना हो। इथियोपियामा साहले–वर्क जेवदे राष्ट्रपतिकाे पदभार ग्रहण गरेकी छिन् तर उनको भूमिका कार्यकारी हैन।
सत्तारूढ चामा चा मापिनदुजी दलकी नेतृ हसन विगत २० वर्षदेखि राजनीतिमा छिन्। जन्जिबारकाे स्थानीय सरकारदेखि देशको संसद्सम्म उनको राजनीतिक यात्रा चलेको थियो।
संविधानबमोजिम हसनले मागुफुलीको दोस्रो कार्यकालको बाँकी अवधि पूरा गर्नेछिन्। सन् २०२५ मा यो अवधि समाप्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।