काठमाडाैं- फ्रान्स र जर्मनीमा एस्ट्राजेनेका खोप लगाउन पुनः सुरु भएको छ। युरोपेली नियामक निकायले एस्ट्राजेनेका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः सुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो।
रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले एस्ट्राजेनेका खोप लगाउन रोकेका थिए।
युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाई सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान सुरु गर्ने बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि एस्ट्राजेनेका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ।
एस्ट्राजेनेकालाई हाल कोभाक्समा समावेश गरिएको छ। कोभिड विरुद्धको खोपलाई विश्वका विभिन्न मुलुकमा समान रुपमा वितरण गर्न कोभाक्सले मद्दत गरिरहेको छ।
संयुक्तराज्य अमेरिकाले आफ्ना छिमेकी मुलुकहरु मेक्सिको र क्यानडालाई मद्दत गर्न लाखौं डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने तयारी गरेको अमेरिकी प्रशासनले जनाएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले २५ लाख डोज मेक्सिको र १५ लाख डोज क्यानडालाई उपलब्ध गराउन लागेको पुष्टी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।