साङ्केतिक तस्बिर
काठमाडौं- बलात्कार प्रयासको आरोपमा एक पाइलटमाथि पाँच दिन म्याद थप भएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको महिला सेलले पक्राउ गरेका समिट एयरका एक पाइलटमाथि पाँच दिन म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।
ती पाइलटले गत फागुन २५ गते ३७ वर्षीया एक महिलालाई आफ्नो कोठामा बोलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि बिहीबार प्रहरीले पक्राउ गरेको थियो।
ती महिलासँग पाइलटको लेनदेन भएको र लेनदेनकै लागि कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप महिलाको छ। पाइलटले पटक-पटक गरेर आफूसँग आठ लाख रुपैयाँ लिएको तर नतिरेको आरोपसमेत महिलाले लगाएकी छिन्।
लेनदेनको विषयमा विवाद भएपछि आफूलाई फसाउन महिलाले प्रहरीमा उजुरी दिएको दाबी ती पाइलटको छ। उनले यसअघि मकालु एयरको जहाज चलाउने गरेका थिए। तर पछिल्लो समय समिट एयरको जहाज चलाउन थालेका छन्।
काठमाडौं आई उनले समिट एयरको जहाज उडाउन थालेपछि सापटी रकम लिन आफू काठमाडौं आएको र सोही बेला उनले बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ।
कोटेश्वरस्थित आफ्नो कोठामा बोलाएर उनले आफ्नो अर्धनग्न भिडियोसमेत बनाएको महिलाले आरोप लगाएकी छन्। जबरजस्ती गर्ने क्रममा आफ्नो सुनको सिक्री र फुलीसमेत साहको कोठामा खसेको ती महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।