काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व पाएकोमा खुसी व्यक्त गरेका छन्।
अध्यक्ष इन्फान्निटोले एन्फा प्रतिनिधिमण्डलसँग फिफा मुख्यालय जुरिचमा बिहीबार भेट गर्दै नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पासहितको नयाँ कार्यसमितिलाई शुभकामना दिएका हुन्।
एन्फाका चार सदस्यीय प्रतिनिधिमण्डले बिहीबार फिफा मुख्यालयमा इन्फान्टिनोसँग भेट गरेका थिए। प्रतिनिधिमण्डमा एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, सदस्यद्वय दिनेश व्यजन्कार र दावा लामा तथा एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाण्डे छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाण्डेका अनुसार फिफा अध्यक्ष इन्पान्टिनोले नेपाली फुटबलको विकासलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। साथै उनले नेपाल भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेका छन्। उनले निकट भविष्यमा कुनै एक अन्तर्राष्ट्रिय फुटबल इभेन्टका लागि नेपाल आउन इच्छा देखाएका हुन्।
एन्फा प्रतिनिधिमण्डलले फिफा डाइरेक्टर मेम्मबर एसोसिएसन्स सञ्जीव बालासिंगम र प्रोजेक्स संयोजक फ्रान्सिस मोलासोकसँग पनि भेटवार्ता गरेका थिए। भेटका दौरान नेपाली फुटबल विकासलागि व्यवसायिक टिम बनाउन सल्लाह दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।