काठमाडौं- भवन बनाउने ठेक्का हात पार्नका लागि कागजात कीर्ते गरेको आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक पक्राउ परेका छन्। ४३ करोड ३७ लाख रुपैयाँमा भवन निर्माण गरेको प्रमाणपत्रसहितका कागजात नक्कली बनाई पेस गरेको आरोपमा कन्स्ट्रक्सनका सञ्चालक ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय रवीन्द्र महर्जन पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अनुसन्धानको क्रममा भवन नै नबनाई भवन बनाएको र सरकारी/सार्वजनिक लिखत कीर्ते गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।
उक्त कार्यमा संलग्न भएको आरोपमा कन्ट्रक्सनका सञ्चालकलाई बुधबार पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिइन्।
कन्सट्रक्सनले पुल्चोकको श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी ४३ करोड ३७ लाख ५५ हजार ६०९ रुपैयाँको लागतमा भवन बनाएको लगायतका कागजात कीर्ते गरेको आरोप लागेको छ।
समितिको लेटरप्याड कीर्ते गरी चन्द्रनिगाहापुर–९ मा निर्माण नै नभएको बहुतल्ले अस्पताल भवन, मेडिटेसन हल, क्लास रुम, कम्पाउन्ड वालसमेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु भई २०७३ भदौ ८ गते निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरिएको भनेर प्रमाणित गरिएको थियो।
संस्थाको योजना अधिकृत गंगाकुमारी गुरुङ, शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरु कीर्ते गरी उक्त काम भएको अनुसन्धानबाट देखिएको छ।
कीर्ते गर्न प्रयोग भएका कम्युटर, सिपियू, ल्यापटप, गुम्बाको छाप, समितिको चलानी नम्बर, सहमतिपत्रलगायतसमेत सिआइबीले बरामद गरकेो छ।
कन्ट्रक्सनका संस्थापक नुच्छे महर्जनबाट रवीन्द्रले २०६३ सालतिर उक्त कम्पनी किनेका थिए। रवीन्द्र १२ कक्षा पास गरेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।