काठमाडौं– नेपाल, बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमबीच हुने ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगितामा डेढ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
एक करोड रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाले जनाएको हो।
चैत १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी ९५ प्रतिशत सकिएको एन्फाले जनाएको छ। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार, टाइटल स्पोन्सर र अरु स्पोन्सरका साथै टिकटबाट आम्दानीको लक्ष्य बनाएको हो।
दशरथ रंगशालामा हुने प्रतियोगितामा भिआइपीतर्फको प्याराफिटमा टिकट दर १५ सय रुपैयाँ र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकेको छ। जहाँ भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट बेच्ने योजना एन्फाको छ।
खेलाडीको बसोबास, खेलाडी भत्ता, आवतजावत खर्च, म्याच अफिसियल खर्च, मैदानलगायतको अन्य खर्च सबै गरेर एक करोड खर्च गरिने अनुमान एन्फाले गरेको हो। प्रतियोगिताका लागि नेपाली टिम तयार रहेको र भारतमा लिग खेलिरहेका किरण चेम्जोङ र अभिषेक रिजाललाई ल्याउने पहल भइरहेको एन्फाका प्रवक्ता किरण राईले जनाएका छन्।
प्रतियोगिताका लागि कीर्गिस्तानबाट ३२ जनाको टोली आइतबार काठमाडौं आइपुग्ने छ। यता, बंगलादेशबाट ४० जनाको टोली बिहीबार दिउँसो काठमाडौंँ आउँदै छ।
प्रतियोगिताको विजेतालाई ५ हजार डलर र उपविजेतालाई ३ हजार डलर पुरस्कार दिइनेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’लाई २ सय ५० डलर पुरस्कार दिइने एन्फाले जनाएको छ।
खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे सुरु हुनेछ। एन्फले निकालेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गीस्तानको यू–२३ टिमसँग खेल्नेछ। नेपालले चैत १४ गते बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्नेछ।
अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।