काठमाडौं- बायर्न म्युनिकमा अहिले एउटा युग फेरिने समय देखिन्छ। यही अवस्थामा आउँदो बायर्न म्युनिक कस्तो होला भन्ने जिज्ञासा बढिरहेका छन्। तर तयारी यस्तो देखिन्छ कि अझै केही वर्ष युरोपियन प्रतिस्पर्धामा बायर्न म्युनिक अब्बल बनिरहने छ।
बुन्डेस लिगा विजेता बायर्न म्युनिक अहिले युरोपियन फुटबलको केन्द्रमा देखिएको टिम हो। गएको सिजन सन् २०१२-१३ पछि बायर्नले च्याम्पियन्स लिग जितेको थियो। विजेता टिममा अहिले पनि गजवको लय देखिइरहेकै छ। लाजियोलाई समग्रमा ६-२ ले हराउँदै बायर्न म्युनिक यो सिजन क्वाटरफाइनलमा पुगिसकेको छ। सन् २०१३ मा च्याम्पियन्स लिग जितेपछि उस्तै उचाइ कायम गर्न नसकेको पाठ अहिले बायर्न म्युनिकले सिकेको छ।
यसैले जितको प्रतिस्पर्धात्मक निरन्तरतामा ध्यान दिने गरी टिमको व्यस्थापनमा लागेको देखिन्छ। पुरानो दुःखद् अनुभवकै कारण त्यसलाई नदोहोर्याउन बायर्न ब्यवस्थापन लागिपरेको छ। आफ्ना पुराना खेलाडीहरु अन्तिम वर्षहरुमा रहिरहँदा उस्तै निरन्तरताको लागि बायर्नले काम गरिरहेको हो। भइरहेका खेलाडीको तलबी सुबिधामा पनि युरोपका अरु ठूला टिमको तुलनामा बायर्न म्युनिकले सन्तुलन बनाइरहेको देखिन्छ।
जस्तो कि १७ मिलियन पाउण्डको वार्षिक तलब सम्झौताको माग गरिरहेका २८ वर्षका डेबिड अलाबाबारे बायर्नले जस्तो निर्णय गर्दैछ त्यो अरु क्लबका लागि पनि महत्वपूर्ण पाठ हुनेछ। अलाबालाई बाहिर पठाउन बायर्न यसै राजी भइरहेको होइन। अलाबा जस्तै ३२ वर्षका जेरोमे बोएटेङ पनि सिजनको अन्त्यमा बायर्न म्युनिक छाड्ने सूचिमा नै देखिन्छन्। त्यसबाट पनि बायर्न म्युनिकले ८.५ मिलियन पाउण्ड वार्षिक रुपमा जोगाउनेछ।
बायर्न म्युनिकको कार्यकारी बोर्डका अध्यक्ष कार्ल हाएन्ज होमेनिगरले गएको फेब्रुअरीमा बोएटेङको समय क्लबमा राम्रो रहेको बताएका थिए। उनको बिदाइमा राजी हुनुमा उनको स्थानमा अन्य खेलाडीमाथिको नजर पनि हो। यो सिजनको अन्त्यमा बायर्न म्युनिक छाड्ने तेस्रा रक्षात्मक क्षेत्रका खेलाडीमा देखिन्छन्, जाभी मार्टिनेज। सम्झौता सकिन लागेका ३२ वर्षका मार्टिनेजलाई पनि बिदाइ गर्न बायर्न म्युनिक तयार नै देखिन्छ।
बायर्न म्युनिक विशेष गरी युरोपमा प्रतिस्पर्धी अरु क्लबभन्दा अगाडि खेलाडी किनबेचको योजना बनाउने र त्यसलाई पूरा गर्ने टिमका रुपमा हेरिन्छ।
यो सबैमा बायर्न म्युनिकले आउँदो सिजनका लागि आफ्नो सुरुवाती ११ देखि बेन्चमा रहने खेलाडीको टुंगो लगभग लगाइसकेको देखिन्छ। त्यसमा अलाबा जस्तै सेन्टर ब्याक र लेफ्ट ब्याक दुबै स्थानमा खेल्न सक्ने २५ वर्षका लुकास हर्नान्डेज बायर्न म्युनिकका लागि आउँदो वर्ष महत्वपूर्ण हुनेछन्। यस्तै निकलस सुलेमाथि पनि जिम्मेवारी बढ्नेछ।
यो सिजन चोटका कारण समस्यामा रहेका टङ्गी नियान्जु आउँदो सिजन आफूलाई प्रमाणित गर्ने अवसरमा बढ्नेछन्। यो सिजनको सुरुवात अघि उनी फ्रेन्च क्लब पिएसजीबाट बायर्न म्युनिक पुगेका थिए। यस्तै बोएटेङको स्थानमा डेओट उपामेकानोले सेन्टर ब्याकमा पुरानो शक्ति जोगाइरहने छन्।
यसैले युरोपका अरु क्लबले उपामेकानोलाई लैजान चाहँदा बायर्न म्युनिकले बेचेन। यो सिजन सुरु हुनुअघि बायर्न म्युनिक प्रशिक्षक हान्सी फ्लिकले अन्तिम समयमा केही खेलाडी भित्र्याए। कोरोनाका कारण फुटबल सिजनमा आइपरेको ब्यस्त खेलतालिकामा टिममा रहेका खेलाडी मात्र पर्याप्त हुने छैनन् भन्ने फ्लिकले बुझेका थिए। तर पनि त्यो हतारको निर्णय बायर्न म्युनिकको अहिलेको धैर्य लिएर काम गर्ने शैलीमा सुहाउँदो थिएन।
बायर्न म्युनिक विशेष गरी युरोपमा प्रतिस्पर्धी अरु क्लबभन्दा अगाडि खेलाडी किनबेचको योजना बनाउने र त्यसलाई पूरा गर्ने टिमका रुपमा हेरिन्छ। त्यसका कारण बोलकबोलको युद्धमा बायर्न म्युनिक भिडिरहनु आवश्यक हुँदैन। उपामेकानोलाई किन्दा र २३ वर्षका लेफ्ट ब्याक ओमर रिचाड्सलाई अल्फन्सो डेभियसको विकल्पको रुपमा ल्याइँदा बायर्नको धैर्यताले नै काम गरेको हो।
बायर्न म्युनिक अहिले टिमको डिफेन्समा मात्र काम गरिहेको छैन। केही दिन अघि १८ वर्षका जमाल मुसिएला पाँच वर्षको सम्झौता थपेर बायर्न म्युनिकमा नै रहने पक्का हुनु बायर्नको भविष्यप्रतिको सोच नै हो। बार्सिलोना र लिभरपुलले जमालमाथि आँखा लगाइरहेको बुझेर नै बायर्नले उनको पाँच वर्ष थप गरिहालेको हो। यसअघि २०१३ मा च्याम्पियन्स लिग जितेपछि बायर्न म्युनिकले आफ्ना पुराना खेलाडीको स्थानमा नयाँ खेलाडी विकास गर्न धेरै समय खर्चियो।
पुराना खेलाडीलाई बाहिर पठाउन पनि हिचकिचायो। जसले गर्दा पुरानो जितको अवस्थामा फर्कन बायर्न म्युनिकलाई समय लाग्यो। त्यसबेला आर्जेन रोबेन र फ्रान्क रिबेरी जस्ता खेलाडीको उचो खेल बायर्नको उचाइको कारण थियो। त्यही अवस्था बुझेर बायर्नले अहिले सोचिरहेको छ जति नै उचाइमा रहे पनि एक दिन थोमस मुलर र रोबर्ट लेवान्डोस्कीको पनि विकल्प खोज्नुपर्ने नै छ। जहाँ जमालाई मुलरको स्थानमा बढाउन सकिने खेलाडीका रुपमा बायर्नले हेरिरहेको छ।
यसैले अहिले मुलरलाई राम्रो अवस्थामा बिदाइ गर्न बायर्न हिचकिचाउने छैन। लेवान्डोस्कीकै विकल्पका रुपमा पनि बायर्न म्युनिकले बोरुसिया डोर्टमुन्डका एर्लिङ ब्रउट हल्यान्डलाई ल्याउने प्रयास सुरु गरिसकेको फुटबल जगतमा चर्चा भइरहेको छ। कतिपयले मजाककै रुपमा भनिरहेका हुन्छन्– ‘बायर्न म्युनिकका लागि युथ एकेडेमीको रुपमा बोरुसिया डोर्टमुन्ड बढिरहेको छ।’ २०१४ मा बोरुसिया डोर्टमुन्डबाटै बायर्न म्युनिक आएर उचाइ पाइरहेका लेवान्डोस्कीलाई हेरेर पनि यस्ता प्रतिक्रिया आइरहेका हुन्।
अब उनै लेवान्डोस्कीको विकल्प बोरुसिया डोर्टमुन्डकै हल्यान्डलाई बायर्न म्युनिकले हेरिरहेको केही समयअघि प्रशिक्षक फ्लिकको भनाइले पनि बुझिन्छ। ३४ वर्षका लेवान्डोस्कीको उचाइको समय धेरै छैन भन्ने बायर्न म्युनिकले बुझेको छ। हल्यान्ड ल्याउन नसक्दा नै पनि भविष्यमा बायर्न म्युनिक बलियो टिमका रुपमा देखिने छ नै।
उपामेकानो, डेभियस जस्ता युवा र जोसुवा किमिच र लेओन गोर्तेज्का जस्ता अनुभवी खेलाडीले बायर्नलाई बढाउने नै छन्। बायर्न म्युनिकको खेल शैली पछिल्लो १० वर्ष परिवर्तन भएको देखिँदैन। यही शैली अब छिटै परिवर्तन हुने पनि छैन। उनीहरु आफ्नो शैलीमा मिल्न सक्ने खेलाडीको खोजिमा नै हुन्छन्। भएका खेलाडी त बायर्नको शैलीमा परिवर्तन भइसकेकै छन्।
पछिल्ला वर्ष उचाइमा निरन्तर रहिरहेको रियल मड्रिड अहिले उही अवस्थामा नरहे जस्तै युरोपियन फुटबलमा उचाइमा रहिरहनु सहज काम होइन। तर बायर्नमा भविष्यका लागि रणनीतिक दृष्टिकोण र त्यसलाई सुनिश्चित गर्नका लागि व्यवहारिक प्रयोग देखिएको छ। यसैले भन्न सकिन्छ बायर्न म्युनिक छिटै ओर्लने छैन।
(यो सामग्री जर्मन फुटबल विज्ञ कन्स्टानटिन एकनरले बिबिसीमा लेखेको लेखमा आधारित रहेर तयार पारिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।