कोलकाता- भारतको कोलकाता उच्च अदालतले ४० वर्षदेखि थुनामा रहेका नेपाली नागरिक दीपक जोशीलाई रिहा गर्न आदेश दिएको छ। जोशीविरुद्धको मुद्दा ४० वर्षसम्म सुनुवाई नै नभएपछि उनी थुनामा नै बस्न बाध्य भएका थिए।
लामो समयपछि उक्त मुद्दामा सुनुवाइ गर्दै मंगलबार उच्च अदालतले इलामका जोशीलाई छाड्ने आदेश गरेको हो। अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेशमा भनेको छ। प्रत्येक ६ महिनामा जोशीको मानसिक अवस्था जाँच गराउनसमेत आदेशमा भनिएको छ।
पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका दीपकको परिवारको स्थायी ठेगाना इलामको माई नगरपालिका-१० हो।
कोलकाता उच्चका मुख्य न्यायाधीश थोत्ताथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले जोशीलाई थुनामुक्त गर्न आदेश दिएको हो। मुद्दाको सुनुवाइ सोमबार सकिएपछि बुधबार अदालतले दीपकलाई छाड्न आदेश सार्वजनिक गरेको थियो।
सन् १९८० मा भारतको दार्जिलिङमा पक्राउ परेपछि उनको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि मानसिक अवस्था ठीक नभएको भन्दै उनलाई मुद्दा अघि नबढाई थुनामा राखिएको थियो। सुनुवाई अघि नबढे पनि उनी विभिन्न स्थानका भारतीय जेलमा स्थानान्तरण हुँदै आएका थिए।
के छ आदेशमा?
अदालतले जोशीको मानसिक अवस्था परीक्षण गर्दा प्राप्त भएको प्रतिवेदनका आधारमा थुनामा राख्न उपयुक्त नभएको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो।
'दमदम करेक्स्नल होममा निरन्तर थुनामा राखेर न्यायको कुनै उद्देश्य पूरा हुनेछ भन्ने हामीलाई लाग्दैन,' आदेशमा भनिएको छ, 'भारतीय संविधानले दिएको अधिकार र सर्वोच्च अदालतका निर्देशनअनुसार हामी दीपकलाई रिहा गर्ने आदेश दिन्छौं।'
आदेशमा उनलाई अझै पनि थुनामा राख्नु वा पुनः ट्रायल शुरू गर्नुको कुनै अर्थ नभएको पनि तर्क गरिएको छ। कोलकता उच्च अदालतले त्यहाँका रजिष्ट्रार जनरललाई दीपकका भाइ प्रकाशले शर्तनामा गर्नेबित्तिकै रिहा गर्न भनेको छ।
सन् १९७९ फेब्रुअरीमा उनी इलामबाट हिँडेका जोशीको लामो समयसम्म परिवारले पनि खोजी गरेको थिएन। तर ४० वर्षपछि जेलमा रहेको जानकारी पाएपछि जोशीका भाइ र आमा कलकत्ता पुगेका थिए। दीपकलाई १२ मे १९८० मा पक्राउ गरिएको थियो।
आदेशको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।