काठमाडौं- काठमाडाैंको टोखामा एक युवकको हत्या गरी बाँसघारीमा शव फालिएको पाइएको छ। मोरङको बेलाबारी नगरपालिका-२ घर भएका २२ वर्षीय आशिष लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन्। रौतहटको गौर नगरपालिका-७ घर भएका शेख अबदुल आलम, भारतको मोतिहारी जिल्ला मधुवनी पन्चायत थाना चिरहीयाका १९ वर्षीय भुपेन्द्रकुमार साह र रौतहटको गुजरा नगरपालिका–९ का मोहम्मद कासिम मन्सुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
आलमलाई वर्कसपबाटै मंगलबार पक्राउ गरिएको हो भने साहलाई नयाँबसपार्कबाट र मञ्सुरीलाई रौतहटबाट पक्राउ गरिएको हो।
फागुन २९ गते टोखा नगरपालिका-१ मालुङस्थित सडक छेउको बाँसको झाङमा एक युवकको शव भेटिएको थियो। शव भेटिएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडाैं, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग टोखाको टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनाले लिम्बूको हत्या गरेको पाइएको परिसरका प्रवक्ता रमेश बस्नेतले बताएका छन्। टोखामा मञ्सुरीले सञ्चालन गरेको मोटरसाइकल वर्कसपभित्र फागुन २८ गते राति लिम्बूलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्यापछि शवलाई तन्नामा पोको पारेर स्कुटरमा राखी बाँसको झाङम फालिएको प्रहरी दाबी छ। शव व्यवस्थापनका लागि ग्राहकले बनाउन दिएको २ वटा मोटरसाइकल प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
शवलाई मञ्सुरी र आलमले स्कुटरको बीचमा राखी लगेका थिए भने साहले अर्को स्कुटरमार्फत् रेकी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।