काठमाडौं- सन्तोषी श्रेष्ठ सापकोटा हत्याको कारण पारिवारिक बेमेलसँगै आर्थिक पाटो रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सन्तोषीको हत्या आरोपमा उनका श्रीमान सन्तोष सापकोटा पक्राउ परेसँगै हत्याको कारण खुलेको प्रहरीको दाबी छ। उनलाई मंगलबार साँझ बल्खुबाट प्रहरीले पक्राउ गरेको थियो ।
विगत एक वर्षदेखि श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएको र सन्तोषी जोरपाटीस्थित माइतीमा बस्न थालेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी रमेश बस्नेतले बताए।
झण्डै एक वर्षपछि बल्खुस्थित घर पुगेकी उनलाई सन्तोषले हम्मरले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। आइफोन, सुनको मुन्द्रा २ थान, हातमा लगाउने बाला र २३ हजार नगद सन्तोषीसँग भएको पाएपछि श्रीमान सन्तोषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
एसपी बस्नेत भन्छन्, ‘विगत एक वर्षदेखि सम्बन्ध बिग्रनु र केही रकम र गहना समेत सन्तोषीसँग भएको पाएपछि हत्या गरेको देखिन्छ।’
चैत २ गते साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा हालिएको गरिएको अवस्थामा शव फेला परेको थियो। घरकै पेटीमा रहेको उक्त शव ३३ वर्षीया सन्तोषीको भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
घाँटीमा निलडाम र शवलाई डोरीले बाँधेर तन्नामा पोको पारिएको थियो। त्यो भन्दा बाहिर बोराले प्याक गरिएको थियो। पक्राउ परेका सन्तोषको घरबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हम्मर, रगत लतपतिएको सिरक, मृतकको जुत्ता, रगतले भिजेको सुरुवाल र लागूऔषध डाइजापाम समेत बरामद गरेको छ ।
सन्तोषले लागूऔषध प्रयोग गर्ने गरेकाे पाइएको प्रहरीले जनाएको छ। सन्तोषविरुद्ध कर्तव्य ज्यानको कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।